काठमाडौं- नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाले आगामी बजेट तर्जुमा गर्दा सडक दुर्घटनाबाट हुने जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएको छ।
काठमाडौं जिल्ला शाखाअन्तर्गत रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) को सहयोगमा सञ्चालन भइरहेको नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रमको बिहीबार भएको समीक्षा बैठकले सडक सुरक्षाका निम्ति महानगरले आगामी बजेट तर्जुमा गर्दा त्यससम्बन्धी व्यवस्था गर्न पहल गर्न जनाएको छ।
काठमाडौं महानगरले आफ्नो क्षेत्र भित्रका विद्यालयमा प्रत्येक शुक्रबारलाई 'बुक फ्रि फ्राइडे' को अवधारणामा अगाडि बढाइरहेको र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको अवस्थामा विद्यार्थीलाई सडक सुरक्षासम्बन्धी ज्ञान दिन सके धेरै प्रभावकारी हुने कार्यक्रमका सहभागीले बताए।
सन् २०२२ को मे महिनादेखि सुरु भएको नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रमको वार्षिक प्रगति विवरण पेस गर्दै कार्यक्रम सञ्चालित विद्यालयका शिक्षक तथा विद्यार्थी, पत्रकार र जिल्लास्तरका अन्य सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रमको लक्ष्य र उद्देश्य भनेको किशोरकिशोरीलाई सडकमा हुने जोखिम बारेमा सिकाउनु र दुर्घटनाबाट कसरी जोगिने भन्ने कुरा सिकाउनु तथा दुर्घटना भइहालेको अवस्थामा त्यसको प्रतिकार्य गर्ने सीपको विकास गर्नु रहेको नेपाल रेड्क्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्याम डोटेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।