काठमाडौं– भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा जोडिएपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ।
टाउकोमा चोट लागेपछि प्रहरीले मंगलबार बिहान ४ बजे शेर्पालाई ट्रमा सेन्टर लगेको थियो। ट्रमा सेन्टरमा उपचारपछि शर्पालाई हिरासतमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। शेर्पाको टाउकोमा घाउ लागेका कारण टाँका लगाइएको छ।
शेर्पाले सोमबार साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेका थिए। त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुको हिरासतमा राखिएको थियो।
प्रहरीले भने शौचालयमा लडेका कारण लामाको टाउकोमा चोट लागेको बताएको छ। ‘उहाँ (शेर्पा) शौचालयमा लडेको हो। शौचालयमा लडेपछि टाउकोमा चोट लागेका कारण अस्पताल लगिएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने।
भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता देखिएपछि प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुसँग पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि अनुन्धानका लागि पक्राउ पूर्जी जारी भएको थियो।
उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिइएको थियो। पक्राउ पूर्जी जारी भएलगत्तै उनी मोबाइल अफ गरेर सम्पर्कविहीन भएका थिए।
यो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।