काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्।
भर्चुअल मिटिङमार्फत् श्रेष्ठले निर्देशन दिएका हुन्। बैठकलाई सम्बोधन गर्दै दृष्टिबिन्दु, कार्यशैली र कार्यपद्धतीमा गुणात्मक परिवर्तन गर्न श्रेष्ठले निर्देशन दिए।
उपप्रधानमन्त्री श्रेष्ठले हाम्रो प्राथमिकतामा गरिब र उत्पीडित पर्छन् कि पर्दैनन्? भन्ने प्रतिप्रश्न गर्दै अबको कार्यसम्पादनको मूल्यांकनको आधारको रुपमा यसलाई लिइने स्पष्ट पार्दै यसलाई सामान्य निर्देशनको रुपमा नलिन आग्रह गरेको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले बताए।
विपदको पूर्व तयारी, शान्ति सुरक्षाको स्थिति, मिटरब्याज (अनुचित लेनदेन), सीमा सुरक्षा लगायतका विषयमासमेत निर्देशन दिएको उनले बताए।
७७ जिल्लाको तर्फबाट सम्बन्धित प्रदेशका राजधानी भएका जिल्लाका प्रमुख अधिकारीले रिपोर्ट प्रस्तुत गरेका थिए। सुरक्षा निकायका प्रमुखहरु, विपद् प्राधिकरणका सिईओ र मन्त्रालयका सचिव दिनेश भट्टराईलेसमेत सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।