काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलग्गै अनुसन्धान गर्नुपर्ने बताएका छन्।
उनले आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा राज्यका बहालवाला सचिवदेखि पूर्वमन्त्रीसम्म संलग्न देखिएको र उनीहरुले आफ्नो अधिकार दुरुपयोग गरेको देखिएकाले अख्तियारले जहिले पनि अनुसन्धान गर्न सक्ने बताए।
उनले नक्कली शरणार्थी प्रकरणमा चारवटा कानुन आकर्षित हुने देखिएको बताए। ‘भ्रष्टाचार गरेकोमा त्यही अनुसार हुन्छ। अन्यमा मानव तस्करी, ठगी, संगठित अपराध र कीर्ते कसुर देखिन्छ’, उनले भने।
उनले अख्तियारको रोल अहिले पनि रहेको बताए। प्रहरीले अहिले अनुसन्धान गरिरहेको भनेर अख्तियार चुप लागेर बस्न नपर्ने भन्दै उनले समानान्तर रुपमा अनुसन्धान अघि बढाउन सक्ने सुझाव दिए।
‘प्रहरीले अहिलेको अनुसन्धान सकेर मुद्दा दायर गरेपछि अख्तियारले अनुसन्धान गर्नसक्ने रोल बाँकी नै रहन्छ,’ उनले भने, ‘अहिले भएको अनुसन्धानले अख्तियारको अनुसन्धानलाई कुनै बाधा भने गर्दैन।’
पूर्व प्रमुख आयुक्त उपाध्यायले यस्तो टिप्पणी गरिरहँदा अख्तियार भने यो प्रकरणमा अनुसन्धान नगरी मौन बसेको छ। अख्तियारले प्रहरीको अनुसन्धानपछि आउने सिफारिसलाई पर्खेर बसेको देखिन्छ।
विगतमा एकपटक यही प्रकरणमा अख्तियारले तामेलीमा पनि राखेकाले त्यसबाट पुन: जगाउनुपर्ने देखिन्छ। त्यस्तै यो प्रकरणमा आफ्नै प्रमुख आयुक्त प्रेम राईको पनि नाममा उजुरी भएकाले अख्तियार यसमा अलमलमै रहेको अवस्थामा पूर्व प्रमुख आयुक्तले अख्तियारले अनुसन्धान आफ्नै रुपमा गर्नुपर्ने टिप्पणी गरेका हुन्।
नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव टेकनारायाण पाण्डे लगायत मुछिएका छन्। ती मध्ये रायमाझी भने फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।