काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी विधेयक अघि बढाउन तीन दल सहमत भएका छन्। संघीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच भएको छलफलमा उक्त सहमति भएको हो।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यादेशअघिको व्यवस्थाअनुसार नै उक्त विधेयकलाई कानुनी रुप दिने विषयमा सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
यसैगरी जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेर पनि छलफल भएको उनले बताएका छन्।
बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने पनि सहमति भएको छ।
संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।