सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ।
ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असुलेको रकम फिर्ता गराउन थालको हो।
सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कारबाही सुरु गरेको छ। प्रशासनले पक्राउ परेकाहरुबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताइन्। उनले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजार सम्म रकम लिएको पाइएको बताइन्।
सो रकमसमेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको उनको भनाइ छ। उनले भनिन्, ‘ठगिएको गुनासा बढ्न थाले। छानबिनको क्रममा पुष्टि भएसँगै ठगी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ। कोही धरौटीमा छुटेका छन्। कसैको मुद्दा चल्ने क्रममा छ र केही खोजीको क्रममा छन्।’
यसैबीच सुनसरी प्रशासनले लेखापढी व्यवसायीको आचरण र व्यवहारको आधारमा निगरानी बढाइएको समेत जनाएको छ। उसले दर्ता बेगर सञ्चालनमा रहेका पसल तथा फर्म बन्द गरिएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।