काठमाडौं– साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ।
पद्मकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा मार्क्सवादीसौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का मार्क्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचक द्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरे।
भण्डारीले यस कृतिमा नेपालमा विसं १४५० देखि हालसम्म भएका युद्धमाथि लेखिएको साहित्यको ऐतिहासिक विवेचना गरेका छन्। कृतिमा नेपाली युद्धसाहित्यका साथै नेपाली द्वन्द्वसाहित्य र जनयुद्धको साहित्यको पनि चर्चा गरिएको छ। साथै०७ र २०१८ सालमा भएका सशस्त्र विद्रोहमा लेखिएको साहित्यको पनि विवेवचना गरिएको छ।
कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै मार्क्सवादीसौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ले शान्ति र बुद्धको देश भन्दै आएकोमा वीरगाथा कालदेखि जनयुद्ध कालसम्म भएका युद्धमाथि लेखिएको साहित्यलाई एकैठाउँ राखेर अध्ययन गरे नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित हुने बताए।
उनले युद्ध र द्वन्द्वसाहित्यलाई नयाँ तरिकाले राखिएकोले कृति पठनीय रहेको जनाए।
त्यसैगरी कार्यक्रममा बोल्दै सौन्दर्यचिन्तक निनु चापागाईंले नेपाली युद्धसाहित्यमाथि कमै लेखिएकोमा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेकोले यस कृतिको महत्व झल्किएको बताए।साथै उनले कृतिमा माक्र्सवाद र समाजवादी यथार्थवादमाथि कहीँकतै नबोलेको, नलेखेकोमा प्रश्न पनि उठाए।
कार्यक्रमका अर्का वक्ता डा. अमर गिरीले युद्ध सशस्त्र मात्र नभएर निशस्त्र पनि हुने बताए।
अर्का वक्ता डा. विन्दु शर्माले नेपाली साहित्यमा युद्धमाथि लेखिएको यस्ताखाले कृति नआएकोमा यसको महत्व बढी भएको बताइन्।
कार्यक्रमका चारै वक्ताले कृतिको भूमिकामा रहेको नेपाली साहित्यको कालविभाजनमाथि बढी समय खर्चिएका थिए।
लेखक विष्णु भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकोले कृति तयार गरेको जनाए।
उनले कृतिमा एकीकृत राष्ट्रनिर्माणको क्रममा भएका युद्ध, नेपालको अखण्डता, सार्वभौमिकता तथा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको साहित्यका साथै द्वन्द्वसाहित्यको पनि विवेचना गरिएको जनाए।
पुस्तक ‘भुँडीपुराण प्रकाशन’ले बजारमा ल्याएको हो। ५ सय पृष्ठको कृतिको मूल्य ७ सय राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।