काठमाडौं– प्रमुख ३ दलका शीर्ष नेता र संसदीय दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ। संसद्लाई प्रभावकारी बनाउने विषयमा प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता र प्रमुख सचेतकहरुबीच छलफल भएको हो।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सहभागी थिए। यस्तै, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सहभागी थिए।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा बसेको बैठकमा जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।
बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो।
‘‘निकै सकारात्मक छलफल भएको छ। संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ प्रमुख सचेतक पाण्डेले भने, ‘संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने छ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन। यिनै विषयमा छलफल भयो। संसद् सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।