प्रतिकात्मक तस्बिर
सुर्खेत– कर्णाली प्रदेशमा शिक्षण सिकाइ उपलब्धि अन्य प्रदेशको तुलनामा कमजोर देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको शिक्षाको अवस्था विषयक कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो।
सार्वजनिक तथ्याङ्कमा कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश राष्ट्रिय औषत सिकाइ उपलब्धिभन्दा तल रहेको सो केन्द्रले जनाएको छ। कर्णालीमा १३ प्रतिशत विद्यार्थीको मात्रै सिकाइ उपलब्धि राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ। पाठ्यक्रम सहज भए पनि सिकाइ उपलब्धि कमजोर देखिएको महानिर्देशक चन्द्रकान्त भुसालले बताए।
कक्षा ३, ५ र ८ का विद्यार्थीमा गरिएको अध्ययनमा समग्र कर्णाली प्रदेशका ८७ प्रतिशत विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको हो। अङ्ग्रेजी, गणित र विज्ञानमा सिकाइ उपलब्धि खस्कँदो रहेको प्रस्तुत प्रतिवेदनमा जनाइएको छ। सन् २०१७ भन्दा सन् २०२० मा सिकाइ उपलब्धि देशभर नै घटेको केन्द्रको तथ्याङ्कमा छ। यसअन्तर्गत २०१७ मा गणित विषयमा ४६ प्रतिशत बालबालिमा सिकाइ उपलब्धि भएकामा २०२० मा आउँदा ३२ प्रतिशतमात्रै बालबालिकामा सिकाइ उपलब्धि देखिएको छ।
त्यसैगरी विज्ञान विषयमा ४४ प्रतिशत रहेको सिकाइ उपलब्धि तीन वर्षपछि अर्थात् २०२० मा आउँदा ३८ प्रतिशतमात्रै बालबालिकाले पाठ्यक्रमअनुसार सिकाइ हासिल गरेका छन्। नेपाली विषयमा समेत बालबालिकाको सिकाइ कमजोर भएको तथ्याङ्कमा उल्लेख छ। यसअनुसार २०१७ मा ६९ प्रतिशत बालबालिकाले पाठ्यक्रमअनुसार सिकाइ गरेका थिए भने २०२० मा ५९ प्रतिशतले मात्रै सिकाइ हासिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।