विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको छैटौं चरणको खेलका लागि नेपाली क्रिकेट टिमले तयारी पूरा गरेको छ । नेपाली टिम मंगलबार राति हङकङ प्रस्थान गर्दैछ । सोमबार अन्तिम तयारी गरेको नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप छनोट खेलमा चयन हुन हङकङसँगको खेल जित्नैपर्ने दबाव छ।
नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा प्रतिस्पर्धा हुँदै छ । डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ । हङकङ प्रस्थान गर्नुअघि नेपाली टिमका कप्तान पारस खड्कासँग नेपालको तयारीबारे गरिएको कुराकानी:
डब्लुसिएलमार्फत विश्वकपको छनोटमा स्थान बनाउन नेपालले हङकङ विरुद्धको खेल जित्नैपर्ने अवस्था छ । नेपाली टिममाथि कत्तिको दबाव छ ?
नेपाललाई मात्र होइन, छनोटको दौडमा रहेका सबै टिममाथि नै दबाव छ । पछिल्लो २ राउन्डमा केन्या, पपुवा न्युगिनी र स्कटल्यान्डको नतिजा हेर्ने हो भने छनोटको अंक तालिका अहिले पनि सबै टिमका लागि खुला छ । हाम्रो लागि जित्नैपर्ने अवस्था छ । हङकङको पनि उस्तै स्थिति छ । कुनै पनि टिमलाई सजिलो छैन । त्यसैले हामीले कडा मिहिनेत गरेका छौं । तयारीमा सन्तुष्ट पनि छौं । सकारात्मक नतिजाको अपेक्षा छ । राम्रो क्रिकेट खेलेर अघि बढ्नु छ भने यो दबावलाई हामीले झेल्न सक्नुपर्छ।
टिममा नयाँ तथा पुराना खेलाडीको सम्मिश्रण छ । केही नयाँ खेलाडी पनि आएका छन् । अहिलेको टिम कस्तो छ?
पुराना तथा अनुभवी खेलाडी शक्ति गौचन दाइ बिरामी भएकाले टिममा हुनुहुन्न । ललित भण्डारी र सुशील कँडेल नयाँ खेलाडीका रुपमा टिममा छन् । नयाँ खेलाडीका लागि एउटा सपना पूरा भएको जस्तो हो । तीन-चार जना बाहेक अरु खेलाडी युवा छन् । त्यसैले हाम्रो युवा टिम हो । समग्रमा खेलाडीहरु क्रिकेटको माहौलमा भिजेका छन् । कप्तानको रुपमा भन्नुपर्दा टिमका हरेक सदस्यको प्रदर्शनमा खुसी छु । खेलमा नतिजाले नै टिमको स्तर निर्धारण गर्छ । तयारी र मिहिनेत जति राम्रो गरे पनि जित निकाल्न नसकेसम्म केही हुन्न । त्यसैले हामी राम्रो नतिजा निकाल्न तयार छौं । मिहिनेत गरेअनुसार नतिजा पनि राम्रै आउने अपेक्षा छ।
प्रतियोगिताको संरचना र टिम हेर्ने हो भने सबै टिमले एक-अर्कालाई पराजित गर्न सक्छन् । पछिल्ला नतिजा पनि त्यस्तै आइरहेका छन् । हामीले हङकङ टिमलाई हेरेर तयारी गरेका छौं।
नेपाली टिमले हङकङ विरुद्ध कस्तो तयारी गरेको छ ? कुन क्षेत्रमा बढी केन्द्रित छ?
पहिलेका एक-दुई टुरमा हाम्रो तयारीमा कमी भयो भन्ने थियो । हङकङ विरुद्ध भने हामीले एकदमै राम्रो तयारी गरेका छौं । हामीले बलिङ, ब्याटिङ र फिल्डिङ गरी तीन वटै पाटोमा उत्तिकै मिहिनेत गरेका छौं । प्रतियोगिताको संरचना र टिम हेर्ने हो भने सबै टिमले एक-अर्कालाई पराजित गर्न सक्छन् । पछिल्ला नतिजा पनि त्यस्तै आइरहेका छन् । हामीले हङकङ टिमलाई हेरेर तयारी गरेका छौं । दुई टिमले एक-अर्का खेलाडीलाई चिनेकाले बलियो र कमजोर पक्ष थाहा छ । हामी आफ्नो योजना लिएर अघि बढ्नेछौं । जुन टिमले दबाब बढी थेग्न सक्छ, त्यही टिमले जित्छ।
अन्य मैदानको तुलनामा हङकङको मैदान सानो छ । मैदानमा जुन टिमले ठूला सर्ट प्रहार गर्न सक्छ, त्यही टिमले बढी रन बनाउन सक्छ । तर नेपाली टिममा ठूला सर्ट प्रहार गर्नमा केही समस्या छ नि !
टी–२० फर्म्याटका लागि सानो मैदानले अर्थ राख्छ । तर, ५० ओभरको खेलमा यसले खासै अर्थ राख्छ जस्तो लाग्दैन । अर्कोतर्फ, हङकङको घरेलु मैदानमा नतिजा त्यति राम्रो छैन । यसो भन्दैमा हाम्रो पक्षमा नतिजा आउँछ भन्ने होइन । हामीले सानो मैदानको लागि रणनीति बनाएका छौं । पछिल्लो पटक सन् २००५ मा हङकङमा खेलेका थियौं । त्यतिबेला मैले र शरद भेषावकरले खेलेका थियौं । सन्दीप लामिछानेले पछिल्लो पटक टी–२० लिग खेलेका छन् । तीन जनाले मात्र हङकङमा खेलेकाले टिमको लागि फरक अवस्था छ । मलाई लाग्छ, हङकङको मैदान ब्याटिङ पिच हो । मैदानको क्षेत्र दुवै टिमका लागि उस्तै हो । कुन टिमले राम्रो योजना बनाउँछ भन्ने कुराले फरक पार्छ।
पछिल्ला प्रतियोगिता हेर्ने हो भने विनोद भण्डारीको प्रदर्शन त्यति सन्तोषजनक छैन । टिमले उनलाई बढी नै विश्वास गरेको जस्तो लाग्दैन?
होइन होइन, त्यस्तो होइन । हामीले अभ्यास खेलमा धेरै कुरा प्रयोग गर्ने कोसिस गर्यौं । पछिल्ला रेकर्ड हेर्ने हो भने हामीले त्यति नराम्रो गरेका छैनौं । अरु टिमको तुलनामा हामी अंक तालिकामा तल छौं । तर, जति खेल हारेका छौं, प्रतिस्पर्धामा खरो उत्रेर हारेका छौं । टिममा एउटा संरचना हुन्छ, हामी त्यसमा केन्द्रित छौं । त्यसैले एउटा निश्चित खेलाडीभन्दा पनि टिमले राम्रो गरिरहेको छ । घरेलु प्रतियोगितामा विनोदले राम्रो प्रदर्शन गरेका छन् । चाहिएको अवस्थामा उनले टिमका लागि राम्रो प्रदर्शन गर्नेमा आशावादी छौं।
टिममा तीन जना तीव्र गतिका बलर छन् । हङकङ विरुद्धको खेलमा कति जनाले मौका पाउँछन्?
हामी पहिले हङकङको विकेट हेर्छौं, अनि मात्र बलरबारे निर्णय लिन्छौं । हामी तीनै जनालाई पनि खेलाउन सक्छौं । कति जना खेलाउने भन्ने कुरा त्यहाँको वातावरणले फरक पार्छ । मैदानको आकार हेर्ने हो भने हामीले केही प्राविधिक पक्षलाई ध्यान दिनुपर्छ । सोमपाल कामीको कुरा गर्नुपर्दा उनी तीव्र गतिका बलर मात्र होइनन्, अलराउन्डर पनि हुन् । करण केसी पनि सोमपालकै क्याटेगोरीमा पर्छन् । तर, उनीहरुलाई बलिङमा पहिलो प्राथमिकतामा राख्नेछौं । ब्याटिङ पनि गर्न सक्छन् भने त्यो टिमको लागि प्लस प्वाइन्ट हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।