काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन्।
शनिबार काठमाडौंको नक्शालमा सुरु भएको नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
उनले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा आधारित भइ कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रुपमा भुटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताए। उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न नसक्ने बताए।
आन्दोलनमा सहभागी हुन पुगेका पूर्वप्रधानमन्त्री डा भट्टराईप्रति नागरिकहरु खुशी थिएनन्। उनीहरुले यस्ता गतिविधिमा डा भट्टराई र उनकी धर्मपत्नी एवं पूर्वमन्त्री हिसिला यमीको पनि संलग्नता रहेको भन्दै विरोध जनाएका थिए।
एक प्रदर्शनकारीले भने, ‘भुटानी शरणार्थी भएर बाध्यकारी अवस्था सिर्जना गर्ने भनेको बाबुराम भट्टराई र हिसिला यमीहरु हुन्। यिनीहरुको विरुद्धमा जनता जाग्नुपर्छ।’
भुटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले विरोध गर्दै आइरहेका छन्। भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।
जसमा पूर्वगृहमन्त्री खाण अनुसन्धनार्थ थुनामा छन् भने पूर्वउपप्रधानमन्त्री रायमाझी फरार छन्। साथै सरकारले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ। नागरिकहरु भने निष्पक्ष छानबिनमा दबाब पर्नसक्ने भन्दै सडक आन्दोलनमा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।