काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संवेदनशीलतालाई मित्रराष्ट्रहरुले ख्याल गरिदिनुपर्छ भन्ने आफूहरुको स्पष्ट दृष्टिकोण रहेको बताएकी छिन्।
शनिबार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बेलायतमा बसोबास गर्ने प्राज्ञ डा. अच्युत गौतमद्वारा लिखित 'नेपाल-इन्डिया फ्रन्टियर डिप्लोमेसी इन रेफरेन्स टु काली रिभर: पर्स्पेक्टिभ्स अफ इन्टरन्याशनल ल' पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले हरेक राष्ट्रको लागि आफ्नो राष्ट्रिय हित र सुरक्षा प्रमुख कुरा हुने स्मरण गराइन्।
‘त्यसैले कुनै राष्ट्र आफ्नो राष्ट्रिय हित र सुरक्षामा संवेदनशील बनिरहँदा अर्को राष्ट्रको राष्ट्रिय हित र सुरक्षामा पनि त्यतिकै संवदेनशील बन्नुपर्दछ’, उनले भनिन्।
उनले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने बताइन्। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भू-भाग हुन्। हाम्रो देशको नक्सामा संसद्ले कालापानी, लिपुलेक र लिम्पियाधुराको भू-भाग समाविष्ट गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको छ’, उनले भनिन्।
राष्ट्रपति भण्डारीले नेपाली भूभागको यस विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदिको मुहानका बारेमा इतिहासका प्रसंगलाई फेरि एकपटक महत्त्वका साथ स्मरण गर्नुपर्ने बताइन्।
कूटनीति र राजनीतिबीचको सीमारेखा छुट्याउन नसकिएको खण्डमा आपसी विश्वास निर्माण गर्न नसकिने मात्रै होइन, निर्माण भइसकेको विश्वास समेत संकटमा पर्न सक्ने उनको भनाइ छ। ‘यस विषयलाई सम्बद्ध सबैले गम्भीर रुपले मनन गर्नुपर्दछ’, उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।