काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राज्यको सञ्जाल नै मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्वसामु देशको शिर निहुरिएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कोइरालाले भ्रष्टाचारमा संलग्न राज्यका जुनसुकै तह र तप्काका जोकोही भए पनि कानुनको कठघरामा उभ्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्ने उल्लेख गरेका छन्।
कोइरालाले लेखेका छन्, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्यले नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदाय सामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं।’
देशका शासक र प्रशासकप्रति आम नागरिकको अविश्वास बढिरहेको बताउँदै उनले यस्तो परिस्थितले दशकौं संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको उल्लेख गरेका छन्।
‘अब समय आएको छ, भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने बेला,’ कोइरालाले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।