काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले मातहत समिति र सङ्गठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ। आगामी असार ९ गतदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरिएको सो पार्टीले जनाएको छ।
यसैगरी जसपाको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या साता सय ७८ हुने भएको छ। प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो। केन्द्रीय समितिमा चार सय २३, सात प्रदेश समितिबाट ४९ जना, दस राष्ट्रिय समितिबाट ५० जना, तीन वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट एक सय ३५ जना, पाँच वटा महानगरपालिकाबाट पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।
उनका अनुसार ट्रेड युनियन महासंघ, विद्यार्थी, युवा, महिला, कानुन व्यवसायीबाट दुई/दुई जना प्रतिनिधि रहने छन्। बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासंघ, किसान महासंघ, आदिवासी जनजाति महासङ्घ, खेलकुद महासङ्घ, सांस्कृतिक महासङ्घ, पिछडा वर्ग महासङ्घ, शिल्पी दलित महासङ्घ, थारु सङ्घ, मुस्लिम सङ्घ, सुकुम्वासी सङ्घ, प्रेस युनियनबाट एक÷एक जना प्रतिनिधि हुने छन्।
यसैगरी मधेस प्रदेश समितिलाई, कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लालाई थप प्रतिनिधिको व्यवस्था गरेको छ। सोअनुसार मधेस प्रदेश समितिलाई पाँच जना, कोशी प्रदेशका धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट चार/चार जना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट पाँच/पाँच जना थप प्रतिनिधि रहने जनाइएको छ। लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई चार/चार जना थप प्रतिनिधिको व्यवस्था गरिएको र केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।