काठमाडौं- पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका एमालेका सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी पक्राउ परेका छन्।
उनलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीका आईजीको प्रत्यक्ष निर्देशनमा खटिएको टोलीले पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो। रायमाझीको नाममा वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो।
त्यसदिन उनी अर्घखाँचीमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। त्यसैदिन बेलुका काठमाडौं फर्किने समयतालिका रहेको भए पनि उनी सम्पर्कविहीन थिए।
उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले त्यसै दिन (वैशाख २० गते) पक्राउ गरेको थियो। नेकपा एमालेले बुधबार मात्रै रायमाझीलाई सचिव पदबाट निलम्बन गरेको थियो।
उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ।
वैशाख २० गते नेपाल लाइभसँग कुरा गर्दै रायमाझीले आफूमाथि षडयन्त्र भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।