काठमाडौं- ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्र मन्त्री एनपी साउद र सोही सम्मेलनमा भाग लिन पुगेका भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
दुई नेताबीच भेट भएको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै भारतीय विदेश मन्त्री जयशंकरले दुई पक्षीय सम्बन्ध, विद्युत, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको उल्लेख गरेका छन्।
साथै, परराष्ट्र मन्त्री साउदलाई जयशंकरले बधाई पनि दिएको उल्लेख गरेका छन्।
शुक्रबार र शनिबार २ दिन चल्ने उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद ढाका प्रस्थान गरेका हुन्।
उक्त कार्यक्रम भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको हो।
ढाकामा मन्त्री साउदले भारतीय विदेशमन्त्रीका अलवा बंगलादेशी प्रधानमन्त्री लगायत उच्च तहको भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।