काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सरकार विस्तार गर्न लागेका छन्। पाण्डे नेतृत्वमा सात सदस्य मन्त्रिमण्डल बन्ने भएको छ। १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले शुक्रबार ४ जना थप मन्त्री नियुक्त गर्न लागेका हुन्।
नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार ४ बजे शपथ गराउने तयारी गरिएको छ। पाण्डेले वैशाख १५ गते शपथ लिएका थिए। तत्कालीन समयमा कांग्रेसकी सरस्वती अर्याल र माओवादीकी सुशील सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरिएको थियो। माओवादीले पाउने थप मन्त्रीमा म्याग्दीका रेशम जुग्जालीलाई पठाउने निर्णय माओवादीले गरेको छ।
कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा र नवलपुरका महेन्द्रध्वज जिसी मन्त्री बन्ने भएका छन्। एक सिट रहेको माधव नेपालको दल एकीकृत समाजवादीवाट राजीव गुरुङ ‘दिपक मनाङे’ मन्त्री बन्न लागेका हुन्। उनी चौथो पटक मन्त्री बन्दै छन्। २०७४ सालमा पनि उनी गठबन्धन परिर्वतन गर्दै मन्त्री बनेका थिए। नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने गोप्य राखिएको छ। शपथपछि मात्र मन्त्रालय खुलाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।