काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका नेताहरु सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। उनीहरुले सरकारले गरेको काममा राप्रपाको साथ र समर्थन रहेको भन्दै अघि बढ्न पनि सुझाव दिए।
राप्रपाले शुक्रबार सबै जिल्लामा यो प्रकरणमा कारबाही माग गर्दै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। केन्द्रमा राप्रपा अध्यक्ष लिङ्गदेन सहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।
पार्टीले छानबिनमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्नेसमेत प्रतिबद्धता जनाएको पनि उनले प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
‘राप्रपा यस प्रकरणलाई कुनै पनि कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ,’ प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दबाबरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ।’
राप्रपाले विगतका ठुल्ठूला भ्रष्टाचार काण्डका फाइलहरु खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गर्नसमेत प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ।
राप्रपा निर्दोष कोही नफसुन र दोषी कोही नछुटुन भन्ने कानुनको सिद्धान्तमा विश्वास गर्ने भन्दै सरकारलाई पनि यही अनुरुप काम गर्न ज्ञापनपत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।