काठमाडौं– नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको ७८ वर्षकाे उमेरमा निधन भएको छ। केही समय पहिले कोभिड र डेंगीबाट पनि संक्रमित भएका उनको हालै अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।
नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय बस्नेतको शुक्रबार बिहान काठमाडौंमा निधन भएको हो। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा रहेका उनी नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत बनेका थिए।तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख समेत बनेका थिए।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा २००२ साल मंसिर २१ गते जन्मिएका बस्नेतले नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा झन्डै नौ वर्ष जेल जीवन बिताएका थिए। कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को प्रधान सम्पादक रहेका बस्नेतले ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई लेखेका छन्। उनी गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष समेत हुन्।
स्वर्गीय बस्नेतको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा बस्नेतले महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनी कांग्रेसको इतिहासमा सदा स्मरणीय रहेको बताए।
‘एक सज्जन र निष्कलंक व्यक्ति’
नेपाल लाइभसंग कुरा गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व मंत्री बलदेव शर्मा मजगैयाँले स्वर्गीय बस्नेत कांग्रेसको आदर्शप्रति निष्ठावान, एक सज्जन र निष्कलंक व्यक्ति भएको बताए। ‘पुरु दाजु हाम्रो लागि ज्यूँदो इतिहास सरह हुनुहुन्थ्यो। कांग्रेससंग सम्बन्धित ऐतिहासिक सूचना र जानकारीको उहाँ आधिकारिक श्रोत नै हुनुहुन्थ्यो,’ मजगैयाँले भने।
बीपी कोइराला स्मृति ट्रष्टमा स्वर्गीय बस्नेतसंग २ दशक भन्दा बढी समयसम्म सँगै काम गरेको सम्झना गर्दै मजगैयाँले भने, ‘लेखपढमा रुचि भएका उहाँले पदको लोभ गर्नु भएन। आजीवन अविवाहित उहाँ काठमाडौंमा बस्नुहुन्थ्यो र बाह्रै महिना कोट लगाएर हिंड्नु हुन्थ्यो। उहाँका भाइबुहारी र भतिजहरुले उहाँलाई गरेको स्नेह र स्याहार हाम्रो समाजका लागि उदाहरणीय छ।’
बस्नेतको निधनमा शोक मनाउन कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा वैशाख २९, ३० र ३१ गते गरी ३ दिनसम्म पार्टीको झन्डा आधा झुकाउने, वैशाख ३१ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र उनको निधनको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।