काठमाडौं– नेपाली सेनाका दुईजना सिपाही स्विटजरल्यान्डमा भएको अल्ट्रा म्याराथन तथा ट्रवलस्टक म्याराथनमा विजयी भएका छन्। त्रिभुवन आर्मी कल्बकी सिपाही रोजिना भण्डारी र पुनलक्ष्मी न्यौपाने अल्ट्रा म्याराथन तथा ट्रवलस्टक म्याराथनमा क्रमशः २५ र ५० वटा देशका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम भएका हुन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार स्विटजरल्यान्डको क्रन्समा आयोजना भएको ६४ किलोमिटर महिला अल्ट्रा म्याराथन रनिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी रोजिनाले ९ घन्टा २ मिनेटमा दूरी पार गर्दै नेपाली झन्डा फहराइन्। यो प्रतियोगितामा विभिन्न देशका २५ जना अल्ट्रा म्याराथन धावक सहभागी थिए।

स्विटजरल्यान्डको क्रन्समा आयोजित प्रतियोगितामा अल्ट्रा म्याराथन धाविका रोजिना भण्डारी
यस्तै, क्रन्समै आयोजना भएको ५५ किलोमिटर दूरीको टिम ट्रवलस्टक अल्ट्रा म्याराथनमा रोजिना र नेपालबाट सहभागी भएकी पुनलक्ष्मीको समूहले विभिन्न देशका ५० समूहलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको हो। रोजिना र पुनलक्ष्मीको समूहले उक्त दुरी ९ घन्टा १७ मिनेटमा पूरा गरेको थियो।
क्रन्समा भदौ २ मा प्रतियोगिता आयोजित भए पनि सोमबार मात्र निर्देशनालयले प्रतियोगिताको नतिजाबारे जानकारी गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।