काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र प्रदेश तथा स्थानीय सहयोग कार्यक्रम (पीएलजीएसपी)का साझेदारीबीच भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको विकास साझेदारको रुपमा रहेका स्विट्जरल्याण्ड, नर्वे, संयुक्त अधिराज्य बेलायत र युरोपियन युनियनका प्रतिमण्डलबीच भेटवार्ता भएको हो।
भेटमा स्विट्जरल्याण्ड राजदूतावासका काउन्सिलर एवं उपनियोग प्रमुख सिल्भाना होग, युरोपियन युनियनका काउन्सिलर एवं समन्वय प्रमुख डा मार्को जेमर, नर्वे राजदूतावासका काउन्सिलर अफ गभर्नेन्स एनिला खान र ब्रिट्रि राजदूतावासका कार्यबाहक विकास निर्देशक एन्ड्रयु लङ उपस्थित थिए।
भेटका क्रममा विकास साझेदारी प्रतिनिधिमण्डलले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमको निरन्तरता, कार्यक्रमको ढाँचाको पुनरावलोकन तथा त्रैमासिक रुपमा कार्यक्रमको विस्तृत समीक्षा गर्नुपर्ने लगायतका विषयमा सामूहिक धारणा राखेका थिए।
मन्त्री मोदीले प्राप्त सुझाव र सल्लाहका आधारमा प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमलाई थप परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। यो कार्यक्रमको लक्ष्यहरु, अवधारणा, अन्तिम प्रभाव र सान्दर्भिकता बाँकी नै रहेकाले यसको एक वर्षको लागि प्रस्ताव गरिएको संक्रमणकालीन वर्ष र त्यस पछिको कार्यक्रमको बहुवर्षीय विस्तारका लागि समेत विकास साझेदारीहरुको सहमति सरकारले अपेक्षा गरेको मन्त्री मोदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।