काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणबारे कुनै निर्णय गरेको छैन।
बैठकपछि जानकारी दिँदै सहमहामन्त्री जीवन परियारले अहिले खाण अभियुक्त मात्रै भएको र दोषी नठहरिएकाले कारबाहीबारे कुनै निर्णय नभएको बताए।
साथै सरकारले निष्पक्ष र तठस्थ छानबिन गरे कांग्रेसले खुलेर सहयोग गर्ने विषयमा छलफल भएको बताए। एमालेले टोपबहादुर रायमाझीलाई कारबाही गर्दा कांग्रेसले किन गर्न सकेन भन्ने प्रश्नमा सहमहामन्त्री परिवारले कांग्रेसले दोषी ठहरिएपछि मात्रै कारबाही गर्ने जवाफ दिए।
यस्तै आजको बैठकमा कोशी प्रदेश सरकारमा तालमेलका लागि केन्द्रसँग छलफल गर्ने निर्णय गरेको छ। हाल उक्त प्रदेशमा एमाले र माओवादीको सरकार रहेको छ। यसका लागि दुई जना महामन्त्री गगनकुमार थापा, विश्वप्रका शर्मा र भिष्मराज आङ्दाम्बेलाई छलफल गर्ने जिम्मेवारी दिइएको छ।
यस्तै दुवै सदनले पारित गरेको नागरिकता विधेयकबारे पनि कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरिएको छ। साथै भातृ संगठन, पार्टीको नीति अधिवेशन गर्नुपूर्व केन्द्रीय कार्यसमिति बैठक राख्ने निर्णय भएको परियारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।