काठमाडौं– राप्रपाका नेता रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि नेपालमात्र नभई विदेशी दबाबले अनुसन्धान अघि बढेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा उनले आरोप लागेका व्यक्तिहरुले नै विदेशी दबाब दिएको बताएको भन्दै नेपालले मात्र गरेको कल्पना गर्न नसकिने टिप्पणी गरेका छन्।
‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र संभवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाण पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनैपर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीकाविरूद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन’ उनले लेखेका छन्।
यस्तै उनले अहिले भइरहेको छानबिनबारे सबै उत्साहित भइरहेको बेला द्रुत गतिमा भइरेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो? भन्दै प्रश्न गरेका छन्।
उनले भनेका छन्, ‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानविनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानविन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो? त्यो हो भने भ्रममा हुनुहुन्छ।’
कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबीआई’ले पनि गरिरहेको छ भनि गरेको टिप्पणीलाई नबिर्सिन उनले आग्रह गरे।
उनले भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको र उनीहरूको चासो र संभवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाण पक्राउ नपर्ने र एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरूद्ध पक्राउ पुर्जी जारी नहुने टिप्पणी गरे।
‘माओवादी शिविर घोटाला काण्ड, बालुवाटार काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइडबडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड, महरा काण्ड, सुडान घोटाला काण्ड, एनसेल काण्ड, चिनियाँ जहाज खरिद काण्ड, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश काण्ड, बुढी गण्डकी काण्ड जस्ता अनगिन्ति काण्डहरूमा किन कोही ठूला नेता गिरफ्तार हुँदैनन्?’ उनले लेखेका छन्, ‘तसर्थ, “वाह, वाह गृहमन्त्री गजब गर्नुभयो, सरकार खुट्टा नकमाऊ” भन्नु बेकार छ। जुन दिन माथि उल्लेख गरिएका जस्ता सबै काण्डमा मुछिएका ठूला नेता पनि गिरफ्तारीमा पर्लान्, त्यस दिन जे–जे भन्नु पर्छ भनौंला।’
साथै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तरआत्माको आँटले यो कार्य गरिरहेको भए पालैपालो अरू दर्जनौंलाई सप्रमाण पक्राउ गर्न सक्छन् भन्नेमा सन्देह नभएको बताएका छन्। यसबाट कोही धेरै उत्साहित हुनु पर्ने कारण नभएको भन्दै भ्रष्टाचारको कालोमोसो पोतिएको अनुहारमा विशेष कारणबस सेतो रङ्ग दल्ने प्रयास मात्र हुनसक्ने मिश्रले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।