काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन्। बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एसका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए।
'निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन्,' श्रेष्ठले भने। श्रेष्ठले यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गरे। अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ।
'यो भ्रष्टाचार मात्रै होइन, माथिदेखि तलसम्म मिलेर चलाइएको संगठित अपराध हो। यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो,' उपप्रधानमन्त्री श्रेष्ठले भने, 'यसकै सबै नेक्ससलाई कानुनी कारबाहीको दायरामा ल्याउनेतर्फ हामी अगाडि बढेका छौँ।'
श्रेष्ठले यो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्दै दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने दृढता व्यक्त गरे। शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।
'मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस्, उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन। दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ,' श्रेष्ठले भने, 'प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ। दोषीलाई कारबाही गरियोस्, निर्दोष नपरुन् भन्ने छ सबैको कुरा।'
सिंगो देश भ्रष्टाचार र कमिसनले आक्रान्त बनेको उल्लेख गर्दै उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको बताए। 'राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,' उपप्रधानमन्त्री श्रेष्ठले भने।
भेटमा नेकपा एसका केन्द्रीय सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय नेताहरूले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाइ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।