काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताएका छन्।
बुधबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकार, नियमनकारी निकाय र निजी क्षेत्रको कारण आएको भन्दै सबै एक आपसमा मिलेर समाधान गर्नुको विकल्प नभएको बताए।
पछिल्लो समय मुलुकमा हुने हरेक घटना बिग्रँदो अर्थतन्त्रसँग जोडिन थालेको उनको भनाइ थियो। अध्यक्ष ढकालले आर्थिक संकुचन कोभिड–१९को असरको प्रभावको कारण, रसिया–युक्रेन युद्ध र नियामक निकायले लिएको कसिलो नीतिको कारण आएको दाबी गरे।
उनले वर्तमान अर्थतन्त्रको समस्या र चुनौतीलाई सबै मिलेर असजिलो अवस्थाबाट बाहिर निस्कन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे। अर्थतन्त्रको विषय उद्योगी व्यवसायीहरु सबैले सकारात्मक रुपमा सोच्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।