काठमाडौं- सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीबीचको भेट जारी छ।
तीन शीर्ष नेताहरुबीच भेट चलिरहेको बेलामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रवेश भएको छ। उनको प्रवेशको कारण भने खुल्न सकेको छैन।
तीन शीर्ष नेताबीचको भेटलाई नक्कली शरणार्थी प्रकरणसँग जोडेर हेरिएको छ। बाहिर नेताहरुले फरक खालको प्रतिक्रिया दिइरहेको भए पनि आन्तरिक रुपमा भने यो प्रकरणलाई फासफुस पार्ने प्रयास स्वरुप भेट भइरहेको आशंका व्यक्त भइरहेका छन्।
तीन नेताबीच मंगलबार बिहान पनि छलफल भएको थियो। यसअघि वैशाख २१, २३ र २५ गते प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पनि भेट भएको थियो।
प्रहरीले बुधबार मात्रै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनकै निवासबाट पक्राउ गरेको छ। पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको नाममा पक्राउ पुर्जी जारी भएको छ। उनी भने सम्पर्कविहीन छन्।
प्रहरी स्रोतहरुले यो प्रकरणमा अझै केही हाइप्रोफाइल तानिने सम्भावना छ। यसअघि प्रक्राउ परेका आरोपितहरुले दिएका बयानका आधारमा प्रहरीले प्रमाण संकलन गरिरहेको छ।
बुधबार गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान दबाब र प्रभावरहित रुपमा अघि बढ्ने दाबी गरेका छन्। नेपाल लाइभसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले प्रहरीले स्वतन्त्र रुपमा अनुसन्धान गरिरहेको र केही दिनमा प्रष्ट नतिजा आउने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।