काठमाडौं- एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छोड्न नहुने टिप्पणी गरेका छन्।
उनले अनुसन्धानमा संलग्न देखिएका जो कोही भए पनि उनीहरुलाई अनुसन्धानको दायरमा ल्याउन माग गरे। बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भ्रष्टाचारका फाइलहरु खोलिन थालेको भन्दै नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने कुरा देखिएको टिप्पणी गरे।
‘देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्ने प्रमाण भ्रष्टाचारका काण्डहरुले दिइरहेको छ,’ उनले भने, ‘भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गर्दछु।’ उनले अहिले सार्वजनिक भएको नक्कली भुटानी शरणार्थी बनाउने कार्यले नेपालको प्रतिष्ठामा आँच आउने खतरा बढेको बताए।
‘अहिलेको राजनीति एउटा अफ्ठ्यारो स्थितिमा रहेको देखिन्छ। राजनीतिप्रति जनतामा निराशा बढेको छ। नेताहरुप्रति पनि निराशा बढेको छ। निराशा बढेपछि विकल्प के? पहिला त अझै क्रान्तिकारी पार्टी भनेर विकल्पको रुपमा मान्छेहरु दर्शन हेर्ने गर्दथे। सिद्धान्त हेर्ने गर्दथे। त्याग, तपस्या र बलिदान हेर्ने गर्दथे,’ उनले भने, ‘अहिले त्यो हेरिरहेका छैनन्। अहिले कता कता सोसल मिडियाबाट प्रभावित भएर नयाँ पुस्ताले उनीहरुलाई सजिलै मानिसकेका छन्। उनीहरुले सहजै आफ्नोतर्फ तान्न थालेका स्थिति छ। नेपालको भविष्य के हुने हो, नेपाली जनताको भविष्य के हुने हो?’
उनले नेपालको राजनीतिको भविष्य देखेर चिन्ता लागेको पनि बताए। ‘अहिले उठिरहेका सबै प्रश्नको जवाफ एकपछि अर्को भ्रष्टाचारका काण्डहरुका फाइल खुल्न थालेका छन्, यसले नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने देखाउँछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।