काठमाडौं- एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन र कारबाही प्रक्रिया टुंग्याउन दबाब दिने भएको छ। केन्द्रीय सचिवालयको बैठक बसेर उक्त निर्णय गरिएको हो।
उच्च पदस्थ राजनीतिक र कर्मचारी नेतृत्व मुछिएको उल्लेख गर्दै घटनाको प्रकृतिले आर्थिक अनियमिता मात्रै नभएर मानव तस्करी र देशघातीसमेत रहेको उक्त पार्टीको धारणा छ।
छानबिनको दायरा बढ्दै जाँदा अनुसन्धानलाई नाजायज प्रभाव पार्ने ‘दौडधुप’ पनि भइरहेको एकीकृत समाजवादीको ठहर छ। भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा प्रभावकारी कानुनी तथा प्रशासनिक काम नहुँदा लोकतन्त्र र न्याय कमजोर हुँदै जाने उक्त पार्टीको भनाइ छ।
'विगतमा यस्ता कैयन् घटना स्थार्थ समूहका दबाबका कारणले ढाकछोप भएका छन्। तसर्थ, कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कार्यबाही प्रक्रिया कमजोर हुन नजाओस् र सबै दोषीमाथि कारबाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ,' बैठकपछि विज्ञप्ति जारी गर्दै भनिएको छ।
पार्टीले आम जनसमुदाय, राजनीतिक दल, समाजिक संघसंस्था तथा सञ्चार माध्यमहरुलाई समेत यसको अनुसन्धान र कारबाही प्रक्रियालाई सतर्कतापूर्वक हेर्न र निष्पक्ष अनुसन्धान र पारदर्शी कानूनी कारबाहीका लागि दबाब सिर्जना गर्न आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।