काठमाडौं– नेपालले एएफसी एसिया कप २०१९ छनोट अन्तर्गत मंगलबार ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। खेल ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ७ सुरु हुनेछ।
ताजकिस्तानसँग खेल्नुअघि नेपाली प्रशिक्षक ग्योतोकु कोजीले जितका लागि खेल्ने बताए। ताजकिस्तानको राजधानी डुसान्बेको हायात रिजेन्सी होटलमा भएको प्रि म्याच पत्रकार सम्मेलनेमा कोजीले कठिन खेल भए पनि जित निकाल्ने दाबी गरेका हन्। उनले समूहमा १ अंक भएको नेपाल काठमाडौं फर्कदा अंक जोडेर जाने दाबी गरे।

ताजकिस्तानमा अभ्यास गर्दै नेपाली टोली
घरेलु मैदानमा ताजकिस्तानविरुद्ध हारेको बदाला लिने समेत कोजीले बताए। 'हामी एक महिनाअघि बेहोरेको हारको बदाला लिन चाहान्छौं,' कोजीले भने, 'सबै टिममा कमजोरी र बलियो पक्ष हुन्छ। हामी बलियो पक्ष उपयोग गर्न चाहान्छौं।'
नेपालका कप्तान विराज महर्जनले भने, 'नेपालका लागि खेल कठिन हुनेछ। ताजकिस्तानका खेलाडी शारिरीक रुपमा पनि बलिया छन्। तर हामी तीन अंकका लागि आएका हौं। त्यसका लागि हामी राम्रो फुटबल खेल्नेछौं।'
ताजकिस्तानका प्रशिक्षक हकिम फुजाइलोभले खेललाई गम्भीर रुपमा लिएको बताए। 'हामीले ३ अंक लिन जरुरी छ,' उनले भने, 'विपक्षीलाई गम्भीर रुपमा लिएर राम्रो फुटबल खेल्नेछौं।'

एक महिना बीचमा नेपालले ताजकिस्तानसँग दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो। गत भदौ २० मा भएको खेलमा नेपाललाई ताजकिस्तानले २–१ ले पराजित गरेको थियो। नेपालले अब ताजकिस्तानलाई उसको मैदानमा पराजित गर्न सके मात्र एसिया कपमा छनोट हुने सम्भावना बाँकी रहनेछ। बराबरी वा हारले नेपालको छनोट यात्रा गणितीय सम्भावनामै सीमित हुनेछ।
नेपाल समूह 'एफ' को अंक तालिकाको पुछारमा छ। खेलेका ३ मध्ये नेपाल २ खेलमा पराजित भएको छ भने १ खेल बराबरी खेलेको छ। समूहमा १ अंक मात्र भएकाले नेपालका लागि मंगलबार ताजकिस्तान विरुद्धको खेल महत्वपूर्ण मात्र होइन, निर्णायक पनि छ। शीर्ष स्थानको फिलिपिन्सले ७, दोस्रो स्थानको यमनले ५ र तेस्रो स्थानको ताजकिस्तानले ३ अंक जोडेका छन्। समूहका शीर्ष २ टिम दुई वर्षपछि युएईमा हुने एसिया कपमा छनोट हुनेछन्।

नेपाली टिम
गोलकिपर– किरणकुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने
डिफेन्डर– कमल श्रेष्ठ, आदित्य चौधरी, अनन्त तामाङ, देवेन्द्र तामाङ, विराज महर्जन, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी
मिडफिल्डर– सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापामगर, सुजल श्रेष्ठ
फरवार्ड– विमल घर्तीमगर, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।