काठमाडौं- प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठले कोशी प्रदेश नामकरणको विरोधमा झापा जिल्लामा अनावश्यक रुपमा प्रदर्शनकारीमाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाएकी छिन्।
बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले भनिन्, ‘कोशी नामकरण विरुद्धको संघर्ष समितिको आह्वानमा हिजो वैशाख २६ गते झापाको दमकमा शान्तिपूर्ण राँके जुलुस भएको थियो। त्यो जुलुसमाथि अनावश्यक अवरोध र हस्तक्षेप गर्दा झडप भएको छ। १९ राउण्ड अश्रुग्यास, ५ राउण्ड डोमी फायर, ५ राउण्ड रबर बुलेट फायरिङ भएको छ।’
सांसद श्रेष्ठले आन्दोलनकारी घाइते भएको बताएकी छन्। निर्मला बराल र गजेन्द्र फागु लिम्बु घाइते भएको बताउँदै लिम्बुको देब्रे खुट्टाको घुँडामा गोली लागेको उनले बताइन्।
उनले घाइतेमध्ये एक जनालाई विराटनगर रिफर गरेको जानकारी गराइन्। आन्दोलनलाई दमन गर्ने नीति नलिन अनुरोध गर्दै उनले दमन गर्ने सोचबाट अघि बढेमा निकास नदिने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।