काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनबारे संसदलाई जानकारी गराउन रुलिङको माग गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समय माग गरेर बोलेका लिङ्देन नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा भएको ठगीको अनुसन्धानबारे सदनलाई जानकारी गराउन भन्दै सभामुखको रुलिङ माग गरेका हुन्।
‘अहिले नक्कली भुटानी शरणार्थीको नाममा जुन काण्ड भएको छ। त्यो आर्थिक भ्रष्टाचार वा अंकसँग पनि मात्र सरोकार राख्दैन,’ लिङ्देनले भने, ‘यो ठगी राज्य विरुद्धको अपराध र संगठित अपराध र सरकारी कागज कीर्तेको जघन्य अपराध हो। यसमा संलग्न कसैलाई छुट दिने कल्पना गर्न सकिँदैन।’
उनले आफू संसद् अवरोधको पक्षमा नभएको भन्दै संसद्मा भने सरकारले यसबारे जानकारी गराउनुपर्ने माग गरे।
‘म संसद् अवरोध गर्ने पक्षमा छैन। संसद् सुचारु गरौँ। संसद् चलाउने कुरामा राप्रपा सहयोग गर्छ,’ लिङ्देनले भने, ‘राप्रपाको माग भनेको अहिलेसम्म यो प्रकरणमा के–के भइरहेको छ त्यसको जानकारी सदनलाई गराउन रुलिङ होस् भन्ने मााग गर्दछु।’
उनले यसलाई कमजोर बनाउने वा उम्कन दिन नहुने भन्दै प्रहरीले कमजोर अनुसन्धान गर्ने हो कि, अख्तियारलाई बुझाएर छाड्न हो कि भन्ने आशंका रहेको बताए।
‘यो प्रकरणमा ठूला मानिसहरुको नाम आइरहेका छ। शीर्ष नेताहरुको बैठकलाई पनि आशंकाको रुपमा हेरिएको छ,’ उनले भने, ‘शीर्ष नेताहरुको भेटलाई आशंकाको दृष्टिले नहेर्ने कुरालाई सरकारले कसरी काम गरिरहेका छ त्यसको जानकारी दिन माग गर्दछु।’
अहिले भर्खर पूर्वगृहमन्त्री वालकृष्ण खाण पक्राउ गरेको जानकारी पाएको भन्दै यस्ता कुरा संसद्मा पनि जानकारी पाउनुपर्ने लिङ्देनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।