काठमाडौं– भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम उठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग प्रहरीले सोधपुछ सुरु गरेको छ।
बुधबार बिहान पक्राउ परेका खाण अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको टेकुस्थित कार्यालयमा छन्। काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले बुधबार बिहान काठमाडौंको चाबहिलबाट खाणलाई पक्राउ गरेको थियो।
प्रहरीले सोधपुछपछि थप अनुसन्धानका लागि म्याद लिन अदालतमा उपस्थित गराउने तयारी गरेको छ। ‘अहिले प्रारम्भिक बयानका रुपमा सोधपुछ भइरहेको छ। सोधपुछ सकिएपछि अदालतमा उपस्थित गराइन्छ,’ प्रहरी परिसर टेकु स्रोतले भन्यो।
प्रहरीले खाणसँग सोधपुछ गरिरहँदा प्रहरी परिसर टेकु बाहिर भने भिडभाड बढेको छ। खाणका समर्थक र नेपाली कांग्रेसका कार्यकर्ता प्रहरी परिसर टेकु पुगेका छन्।
खाण पक्राउ परेपछि प्रहरी परिसर टेकु र आसपासको क्षेत्रको सुरक्षामा कडाइ गरिएको प्रहरीले जनाएको छ। तर भिडभाडका कारण सडकमा सवारी आवागमनमा नै अवरोध सिर्जना भएको छ।
खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले बुधबार चाबहिल क्षेत्रबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।