गृहमन्त्री श्रेष्ठ (फाइल तस्बिर)
काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान दबाब र प्रभावरहित रुपमा अघि बढ्ने दाबी गरेका छन्। नेपाल लाइभसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले प्रहरीले स्वतन्त्र रुपमा अनुसन्धान गरिरहेको र केही दिनमा प्रष्ट नतिजा आउने बताए।
‘यसमा दबाब र प्रभावरहित ढंगबाट प्रहरीले अनुसन्धान गरिरहेको छ। मैले पनि प्रहरीलाई दबाबमा नआउन भनेर भनेको छु। यसमा निष्पक्ष अनुसन्धान हुन्छ,’ गृहमन्त्री श्रेष्ठले नेपाल लाइभसँग भने।
बुधबार प्रहरीले नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेको छ।
खाण पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भनि आरोप लागेका नेपाली कांग्रेसकी सांसद आरजु राणा, मञ्जु खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईपनि तानिने सम्भावना वढेको छ।
प्रमुख राई गृहसचिव रहेका थिए भने बादल गृहमन्त्री थिए। उनको पालामा भुटानी शरणर्थीबारे अध्ययन गर्न समिति गठन भएको थियो। उक्त समिति निर्माणदेखि नै नक्कली भुटानी शरणार्थी बनाउने चलखेल सुरु भएको हालसम्म पक्राउ परेकाहरुले आफ्नो बयानमा बताएका छन्।
अबको केही दिनभित्रै अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउनुपर्ने भएकाले आरोप लागेका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन्। हालसम्म यो प्रकरणमा १२ जना पक्राउ परिसकेका प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।