काठमाडौं– भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।
प्रहरीका अनुसार गृह मन्त्रालयका तत्कालीन सचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव रहेका टेक नारायण पाण्डेको बयानका आधारमा खाणलाई पक्राउ गरिएको हो।
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री भएपछि खाणले नै पाण्डेलाई गृह मन्त्रालयमा ल्याएका थिए।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम उठाएर ठगी प्रकरणमा प्रहरीले केही दिन अगाडि सचिव पाण्डेलाई पक्राउ गरेको थियो। हाल प्रहरी हिरासतमा रहेका पाण्डेले तत्कालीन गृहमन्त्री खाणकै निर्देशनमा आफूले काम गरेको बयान दिएकाे स्रोतले जानकारी दिएको छ।
प्रहरीका अनुसार ठगी प्रकरणमा बिचौलियाको भूमिका खेलेको आरोपमा पक्राउ परेका सानु भण्डारीले पनि खाणको नाम लिएका थिए। यस्तै, पीडित र दलाल भनिएका व्यक्तिबीचको टेलिफोन कुराकानीमा पनि खाणको नाम उल्लेख भएको अडियो प्रहरीले फेला पारेको थियो।
‘पीडित र दलालबीचको अडियो, सानु भण्डारीको बयान र सचिव पाण्डेको बयानमा पनि खाणको नाम आएको छ। अहिलेसम्मको अनुसन्धानबाट केही तथ्यहरु फेला परेपछि खाणलाई पक्राउ गरिएको हो,’ प्रहरी स्रोतले नेपाल लाइभलाई भन्यो।
खाणकै सहयोगी भएर काम गरेको पाइएपछि उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। केसी खाण गृहमन्त्री हुँदा उनका स्वकीय सचिव (पीए) थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।