काठमाडौं– अमेरिकामा हुने लिडरशिप एक्सचेन्ज कार्यक्रममा नेपाल प्रहरीका एआइजीको टोलीलाई पठाइएको छ।
आइजी वसन्त कुँवर जाने भनिए पनि भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणका कारण सरकारले उनको भ्रमण रद्द गरेको थियो। यतिबेला आरोपितहरुले धमाधम हाइप्रोफाइलहरुको नाम लिइरहेका छन्।
सोही कारण पनि सरकारले आइजी कुँवरको ठाउँमा एआइजी बज्राचार्यको नेतृत्वको टोलीलाई अमेरिका भ्रमणमा पठाएको हो।
उक्त कार्यक्रमका लागि प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा टोली पठाइएको नेपाल प्रहरीले बताएको छ।
टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक एएम चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहेका छन्।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी नायब महानिरीक्षक लगायत प्रहरी अधिकृतहरूले शुभकामनासहित हार्दिक बिदाई गरेका छन्।
वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसी र न्यूयोर्कमा सञ्चालन हुने उक्त कार्यक्रममा भाविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यससम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।