अमरेश कुमार सिंह (फाइल तस्बिर)
काठमाडौं- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभाको बैठकमा आफूले भ्रष्टाचारविरुद्ध कुरा राख्न खोजेको तर सभामुखले समय नदिएपछि विरोधस्वरुप कपडा खोलेको प्रतिक्रिया दिएका छन्।
नेपाल लाइभसँग कुरा गर्दै उनले वर्तमान केही सांसद, मन्त्रीदेखि पूर्व गृहमन्त्रीसम्मको नाम नक्कली भुटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने कार्यमा आइरहेको तर उनीहरुमाथि अनुसन्धानमा अवरोध भइरहेको देखेपछि आफूलाई चित्त नबुझेर कुरा उठाउन खोजेको तर समय नदिएकाले आफूले उक्त कदम चालेको उनले बताए।
संसारमा आफ्नो कुरा राख्न नपाएमा अर्धनग्न भएर विरोध गर्न पाउने चलन र परम्परा रहेकाले आफूले पनि त्यही गरेको उनले बताए। ‘म जनताको प्रतिनिधि भएर संसदमा आएको हुँ। उनीहरुको आवाज मैले संसदमा उठाउन पाउनुपर्छ,’ उनले भने, ‘भ्रष्टाचारका ठूला काण्डहरु आइरहेका छन्। तर राजनीतिक दबाबका कारण प्रभावित पार्ने कोसिस भइरहेको छ। यस्तो कुरा संसदमा उठाउन खोज्दा समय दिइएन।’
सरकारले आफ्ना मानिसहरुलाई बचाउन खोजिरहेको आफूलाई लागेको भन्दै उनले सभामुखले कारबाही गरे पनि आफू जनताका लागि कारबाही भोग्न तयार रहेको बतााए।
‘यो भ्रष्टाचारविरुद्ध देश र जनताका लागि थियो। भ्रष्टाचारको विरोध र जनताको लागि प्रहरी लगाएर निकाल्ने के ज्यान दिन पनि तयार छु,’ उनले भने, ‘जनताको प्रतिनिधि भएपछि उनीहरुको आवाज उठाउन संसदमा यस्तो प्रदर्शन गर्न पाइने अन्तर्राष्ट्रिय प्रचलन पनि हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।