काठमाडौं– प्रतिनिधि सभाको बैठक चलिरहँदा कपडा खोलेर अर्धनग्न भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गराउनुपर्ने माग उठेको छ। प्रतिनिधि सभाकै बैठकमा सांसद अच्युतप्रसाद मैनालीले सिंहको स्वास्थ्य जाँच गराउन माग गरेका हुन्।
प्रतिनिधि सभा बैठकमा बोल्न नदिएको भन्दै सिंहले आफ्नो सर्ट र गन्जी फुकालेर (अर्धनग्न भएर) विरोध जनाएका थिए।
सभामुख देवराज घिमिरेले अशिष्ट र अपमानजनक व्यवहार नगर्न भन्दै सिंहलाई चेतावनी दिएका थिए।
सभामुखले भने, ‘तपाईं अशिष्ट, अपमानजनक व्यवहार गर्दै हुनुहुन्छ। नियम ३० को आधारमा चेतावनी दिन चाहन्छु। असभ्य व्यवहार नगर्नुहोस्। सभ्यताका साथ नियमअनुसार रहनुहोस्।’
त्यसपछि बोलेका सांसद मैनालीले सिंहको स्वास्थ्य जाँचको माग गरे। ‘संसद्मा जे गतिविधि देखा परेको छ। यसमा म माननीय सदस्यको स्वास्थ्यजाँच गर्न माग गर्दछु,’ मैनालीले भने।
नेपाल लाइभसँग कुरा गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभाको बैठकमा आफूले भ्रष्टाचारविरुद्ध कुरा राख्न खोजेको तर सभामुखले समय नदिएपछि विरोधस्वरुप कपडा खोलेको प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।