वैशाख ६ गते बसेको संवैधानिक परिषद्को बैठक काठमाडौं– आज (सोमबार) संवैधानिक परिषद्को बैठक बस्दै छ। बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने अपेक्षा गरिएको छ। परिषद्को बैठक यसअघि वैशाख ६ गते बसेको थियो।
परिषद्मा बहुमत सदस्य रहेको नेकपा एमालेको सर्त र अडानका कारण प्रधानन्यायाधीशको नियुक्ति सिफारिस हुन सकेको छैन।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की भावी प्रधानन्यायाधीशको रोलक्रममा अगाडि छन्। तर एमाले कार्कीको पक्षमा सकारात्मक नभएको बताइन्छ।
वैशाख ६ गते बसेको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीकै अडानका कारण विना निष्कर्ष सकिएको थियो। उक्त बैठकमा ओलीले पहिले संसदीय सुनुवाइ समिति गठन गरेर मात्रै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने अडान राखेका थिए।
संसदीय सुनुवाइ गठनको प्रक्रियामा खासै ‘प्रगति’ भएको छैन। यद्यपि सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा दलहरुलाई सुनुवाइ समितिका लागि ३ दिनभित्र सदस्य (सांसद)हरुको नाम दिन भनेका छन्।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच शनिबार भएको भेट–वार्तामा जुटेको सहमतिअनुसार परिषद्को बैठक बोलाइएकाले सोमबार प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री अध्यक्ष हुने परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन्। हाल प्रमुख प्रतिपक्षी दल रहेको नेकपा एमालेबाटै सभामुख र राष्ट्रिय सभा अध्यक्ष पनि छन्।
संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।