काठमाडौं- राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले भुटानी शरणार्थी प्रकरणबारे कसैको दबाबमा नपरी कारबाहीको प्रक्रिया अघि बढाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन्। आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कमाउन नहुने बताए।
उनले माननीय सकिएको दिनबाट हामी पनि भुटानी शरणार्थी बन्न जाने हो कि? भन्दै व्यंग्य गरे। पूर्व माओवादीका नेतालाई नेकपा एमाले अध्यक्षले माया गरेको नभई सचिवहरु जोगाउन लागेको आशंका आफूलाई लागेको उनले बताए। उनले यस्ता प्रकरणमा जोडिएकाहरुको छानबिन नहुने हो भने समाजले कहिल्यै पनि माफी नदिने उल्लेख गरे।
राइमाझीले दोषीमाथि कारबाही हुन सके मात्रै अहिलेको व्यवस्था बच्ने भन्दै दोषीलाई कारबाहीको कठघरामा उभ्याउन सक्नुपर्ने बताए। उनले भने, ‘भुटानी शरणार्थीको कुरा छ। माननीय सकिएको दिन त हामी पनि उतै लाग्ने हो कि? भुटानी नै हौँ भनेर। त्यस्तो खालको संस्कार र संस्कृतिबाट गएको सरकार संसदबाट जनताले के अपेक्षा गर्ने?’
उनले थपे, ‘जनताले नेताहरुप्रति कटाक्ष गरिरहेका छन्। हामीले आफ्नो तर्फबाट राम्रो गरौँ। मेरै बन्धु माननीय टोपबहादुर रायमाझीको चर्चा छ। बन्धुको चर्चा अलिकति रमाइलो लाग्यो। उहाँको अब अहिले माया गरेको हो कि होइन, प्रतिपक्ष दलको नेताले सरकारले कुरा गर्न खोज्दा समय उपलब्ध नहुने, बोलचाल बन्द गर्ने, तर आफ्नो पार्टीको सचिव चर्चा भुटानी शरणार्थीमा आएपछि धेरै चासो गरेको देखाउनुभयो। मलाई त खासै माया गरेको जस्तो लाग्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।