काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार काण्डहरुको छानबिन गर्ने विषयमा आफूहरु प्रधानमन्त्रीको फिल्म हेर्न आतुर रहेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार भुटानी शरणार्थी प्रकरणलाई ट्रेलर मात्रै भएको भन्दै पूरै फिल्म बाँकी रहेको बताएका थिए।
'अहिले सम्माननीय प्रधानमन्त्रीले बाहिर भन्दै हिँड्नभएको छ, यो ट्रेलर मात्रै हो। फिल्म त आउन बाँकी नै छ। हामी फिल्म हेर्नका निम्ति आतुर छौँ। हामी तपाईंले फिल्म टिकट काटेर बसेका छौँ। फिल्म देखाउनुस्', आइतबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा गिरीले भने।
उनले वाइडबडी, बाँसबारी जग्गा, मातातिर्थ जग्गा, यती काण्ड, ओम्नी काण्ड, लडाकु शिविरका घोटला काण्ड, सीसीटीभी फुटेज र बिचौलिया ल्याएका काण्डहरु जस्ता तमाम काण्डहरुमाथि अब छानबिन हुने विश्वास व्यक्त गरे।
'यस्ता सबै काण्डमा मुछिएकाहरुलाई एकएक गरेर कारबाही गर्ने हिम्मत हामीले गर्नुपर्छ। त्यसका लागि एमाले एकताबद्ध हुन्छ र हाम्रो साथ र सहयोग रहन्छ', उनले भने।
उनले जुनसुकै क्षेत्रमा भएका भ्रष्टाचार, अनियमितता, कानुनलाई हातमा लिने कुरालाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए। 'दोषीलाई उम्काउनुपर्छ भन्ने पक्षमा छैनौँ। दोषीलाई कारबाही होस्', उनले भने।
गिरीपछि बोलेका एमालेका सचेतक महेश बर्तौलाले पनि सत्ता पक्षका कतिपयलाई उन्मुक्ति दिनका लागि आरोपितको बयान लुकाइएको बताए।
उनले छानबिन र कारबाही अनुसन्धानको प्रक्रियाबाट अगाडि बढ्ने कुरा भएको स्मरण गराउँदै प्रधानमन्त्रीले म छोड्दिनँ, समाउँछु भन्दै हिँड्ने कुराले नै यहाँ संशय निर्माण गरेको बताए। 'कतै उहाँ पूर्वाग्रह राखेर सत्ता पक्षसँग जोडिएका सत्ता पक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र कतिपय मान्छेसँग पूर्वाग्रह साँध्ने दुषित मनशाय छैन? भन्ने देखिन थालेको छ', उनले भने।
एमालेकै अर्का सांसद सूर्य थापाले लडाकु शिविरमा अर्बौँको भ्रष्टाचार भएको भन्दै आफूले त्यसको फिल्म हेर्न चाहेको बताए। 'प्रधानमन्त्रीज्यू, त्यो फिल्म हेर्ने व्यवस्था अविलम्ब गर्नुस्', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।