काठमाडौं- प्रतिनिधि सभा बजेट अधिवेशन सुरु हुने दिनको सुरुमै लफडा परेको छ। सभामुखले अधिवेशन सुरु भएको औपचारिक प्रक्रिया थाल्नुअघि नै केही सांसद्हरुले बोल्नका लागि समय माग गरेपछि विवाद भएको हो।
नेकपा एमालेका सांसद् रघुजी पन्तले बोल्न समय माग गरे भने उनलाई उक्त पार्टीका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौलाले सघाए।
त्यसपछि स्वतन्त्र सांसद् अमरेश सिंहले आफ्ना भनाइ राख्न खोजे भने नेमकिपाका सांसद् प्रेम सुवालले पनि आफ्ना भनाइ राख्न समय मागे।
सभामुख देवराज घिमिरेले भने बैठक औपचारिक रुपमा सुरुवात भएपछि कुरा राख्न सकिने बताए। उनले प्रतिबद्धता जनाए, 'म माननीय सदस्यहरुलाई आफ्ना कुरा राख्ने मौका दिनेछु।'
सभामुखले पटक-पटक आग्रह गरेपछि प्रतिनिधि सभा सुरु भएको छ। सुरुमै प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणबारे बोलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।