लन्डन- बेलायतमा राजा चार्ल्स तृतीयको शनिबार एक भव्य समारोहकाबीच राज्याभिषेक भइरहेको छ। सेन्ट्रल लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबी गिर्जाघरमा विशेष समारोहकाबीच अहिले चलिरहेको राज्याभिषेक समारोहमा राजा चार्ल्सलाई राजमुकुट पहिराइने छ।
सो विशेष समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षहरुसहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट पाहुनाहरु सहभागी छन्।
नेपालका तर्फबाट परराष्ट्रमन्त्री एन पी साउदले नेपालको प्रतिनिधित्व गरिरहेका छन्।
गत वर्ष सेप्टेम्बर महिनामा ब्रिटिश महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा युवराज चार्ल्सले गद्दी आरोहण गरेका थिए। संसारभरिबाट करोडौं मानिसहरुले उक्त समारोह टेलिभिजनमा प्रत्यक्ष हेरिरहेका छन्।

२० वर्षको हुँदा चार्ल्सलाई ‘प्रिन्स अफ वेल्स’ घोषणा गरिएको थियो। उनले २९ जुलाई १९८१ मा लेडी डायना स्पेंसरसँग बिहे गरेका थिए। ३१ अगष्ट १९९७ मा प्यारिसमा एउटा कार दुर्घटनामा लेडी डायनाको निधन भयो।
युवराज चार्ल्सले सन् २००५ मा क्यामिला पार्करसँग विधिवत् बिहे गरे। अब उनलाई राजा चार्ल्स तृतीय भनिने छ। बेलायतमा गएको ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ। उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुन्।

स्थानीय समयअनुसार दिउँसो १२ बजेर ३ मिनेट जाँदा आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सको शीरमा राजमुकुट पहिर्याइदिएका थिए। उनले ‘गड सेभ द किङ्ग’ भनेपछि उपस्थित पाहुनाहरुले पनि उक्त भनाइ दोहोर्याएका थिए। २.२३ किलो तौलको सुन र हिरा जवाहरात जडित उक्त राजमुकुट राजाहरुले राज्याभिषेकको बेला मात्रै पहिरिन्छन्।
आइतबार विन्डसर कासलमा विशेष कन्सर्ट हुँदै छ सोमबार देशव्यापी रूपमा स्वयंसेवी कार्यक्रमहरू हुँदैछन्।
प्रहरीले राजतन्त्रविरोधी कम्तीमा ६ जना प्रदर्शनहरूकारीलाई पक्राउ गरेका बताइएको छ। उनीहरुमध्ये केहीले ‘नट माइ किङ्ग’ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए।

स्थानीय समय अनुसार शनिबार बिहान एउटा विशेष बग्गीमा राजा चार्ल्स र क्विन कन्सर्ट क्यामिला बकिङ्घम राजदरबारबाट वेस्टमिन्स्टर आबीतर्फ जाँदा सडकका दुवैतिर उभिएका हजारौं जनसमूहले ताली बजाएर स्वागत गरेका थिए।
(सबै तस्बिरहरु साभार: बीबीसी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।