काठमाडौं– सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जो–कोहीलाई पनि कारबाही हुने बताएका छन्।
पूर्वसभामुख समेत रहेका महराले सरकारभित्र भए पनि वा बाहिर भए पनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताएका हुन्। शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा संलग्नहरुलाई कारबाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताए।
उपाध्यक्ष महराले भने, ‘जो दोषी छन्। तिनी कारबाहीको दायरा भित्र पर्दछन्। जो दोषी छैन, त्यो त कारबाहीको दायराभित्र पर्ने कुरा भएन। सरकारभित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ। त्यसमा कुनै भेदभाव हुँदैन।’
उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उनको तर्क थियो।
उनले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए। उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरु प्रयासरत रहेकोसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।