काठमाडौं– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा अशोकसँग आफ्नो तुलना गरेका छन्। २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० समारोहका अवसरमा उनले आफूलाई मौर्य वंशका राजा अशोकसँग तुलना गरेका हुन्।
उनले भने, ‘मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुशरण गर्दा जीवनको उत्तरार्धमा बुद्धका अनुयायी भएको प्रसङ्ग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ।’
नेपाली समाजको आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्तिप्रक्रियामा रूपान्तरण हुने विषयलाई उक्त सन्दर्भसँग जोडेका हुन्।
उनले भने, ‘क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको परिपुरकका रूपमा व्यवहारसिद्ध गर्नु तथा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाहरूबाट हामी प्रभावित मात्र होइन, हाम्रो विशिष्टता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ।’
तर, यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्वशान्तिका निम्ति स्वामित्व लिनुपर्थ्यो, त्यसमा चुकिरहेको अनुभूत आफूलाई भइरहेको उनले उल्लेख गरे।
नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय रहेको बताउँदै उनले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको उल्लेख गरे।
‘संसारभरिका ४ अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला? अन्दाज गर्न पनि गाह्रो छ,’ उनले भने, ‘तर अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ। प्रचुर सम्भावना हुदाँहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो। वर्तमान सरकारले यस तथ्यलाई ह्रदयङ्गम गरी कार्य अगाडि बढाउने छ।’
पूर्वीय सभ्यताको आलोकको रूपका आधुनिक विकासका उपलब्धिले मानवीय विवेक र चिन्तन धारा ध्वस्तप्रायः भइसकेको आजको समयमा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको प्रधानमन्त्रीले उल्लेख गरे। संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्ने उनले उल्लेख गरे।
पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले हामी वैशवशाली र गौरवशाली दुबै रहेको बताए। उनले थपे, ‘किराँत दर्शन, बुद्ध दर्शन, षड्दर्शन लगायतका नेपाली दर्शनहरूमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू छन्। तिनीहरूको वैज्ञानिक खोज एवं अनुसन्धानका आधारमा नेपाली दर्शनको संरक्षण, प्रवर्द्धन एवं विकासका निम्ति नेपाली बौद्धिक समुदायले विशेष पहल लिन आवश्यक छ।’
मौलिक दर्शन र चिन्तन परम्परालाई नजरअन्दाज गरेर हाम्रो दर्शन, सभ्यता र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न नसकिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।