सभामुख घिमिरे (फाइल तस्बिर)
काठमाडौं– सभामुख देवराज घिमिरेले बुद्धले देखाएको पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
२५६७औँ बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा लिने गरिएको र बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको बताएका छन्।
सभामुखले शुभकामना सन्देशमा भनेका छन्, ‘आजको पवित्र दिनले सम्पूर्ण मानव–जगत्लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको छु।’
सभामुख घिमिरेले नेपाली समाजमा विभिन्न जातजातिहरूको बसोबास गर्ने, जातीय विविधताले नेपाल बहुजातीय मुलुक भएको र विविध जातिहरूको आाफ्नो सांस्कृतिक परम्पराले गर्दा नेपाल बहुसांस्कृतिक मुलुक भएको उल्लेख गरेका छन् ‘विविधता भित्रको एकता हामी नेपालीको मौलिक पहिचान हो, बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्,’ घिमिरेले उल्लेख गरेका छन्।
जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवर्द्धन गर्ने बुद्धका शिक्षा आज पनि त्यत्तिकै सान्दर्भिक रहेका र बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।