लण्डन– परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन लण्डन आइपुगेका छन्। मन्त्री साउद बिहीबार लण्डन् आइपुगेका हुन्।
मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो विमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।
परराष्ट्रमन्त्री साउदले शुक्रबार बकिङ्घम दरबारमा विदेशी पाहुनाको सम्मानमा आयोजना गरिएको राजा चार्ल्सको स्वागत समारोह र वैशाख २३ गते वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिइन्।
मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाटका साथै बेलायतमा रहेका नेपालीसँग अन्तर्क्रिया समेत गर्ने बताइएको छ। परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।