काठमाडौं– नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ सिट्रोन सी ३ सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य ३४ लाख ४९ हजार रुपैयाँ छ। भारतमा निर्मित सिट्रोन सी ३ एक कम्प्याक्ट एसयुभी हो, जसले नेपालका युवा र फरक गाडीको चाहना राख्ने ग्राहकको मन जित्ने कम्पनीको दाबी छ।
‘आकर्षक डिजाइनमा बनाइएको सिट्रोन सी ३, ख्याती प्राप्त वर्ल्ड अर्बन कार–२०२३ अवार्ड पाउन सफल भएको हो’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यो ठाउँ र परिवेशका लागि गाडी उपयुक्त छ।’ कम्पनीका अनुसार यो गाडी बिर्तामोड, इटहरी, नारायणघाट, बुटवल र काठमाडौं गरी नेपालका पाँच प्रमुख सहरहरूमा रहेका सिट्रोनका आधिकारिक सोरुमहरूमा टेस्ट ड्राइभ र बिक्रीका लागि राखिएको छ।
गाडीमा ट्रपिकलाइज्ड एयर कन्डिसनर, मनोरम बाहिरी दृष्य हेर्न मिल्ने आरामदायी भित्री भाग र वायरलेस एन्ड्रोइड अटो र एप्पल कनेक्टिभिटी भएको १० इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन जस्ता सुविधा रहेको कम्पनीले जनाएको छ। यसमा १.२ लिटर पेट्रोल इन्जिन छ, जसले ८१ बीएचपी र ११५ एनएम टर्क उत्पादन गर्छ। सी ३ मा ५ स्पिड म्यानुअल ट्रान्समिसन गियरबक्स छ।
सी ३ मा दुई वर्ष वा ४० हजार किलोमिटरको दूरीसम्म सवारी साधनको हेरचाह र स्पेयर पार्ट्स वारेन्टी समेटिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार काठमाडौंको सितापाइलास्थित सिट्रोनको सेवा केन्द्रबाट मर्मतसम्भार सेवा लिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।