काठमाडौं– काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलका केही कर्मचारी कार्यालय समयमा तास खेलिरहेको अवस्थामा फेला परेका छन्। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडि बढाइएको महानगर श्रोतले जनाएको छ।
बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा ३ जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा भेटिएका थिए। उनीहरू प्रहरी बलको पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएको छ।
यसरी कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानिया रहेका छन्। बानिया भने कम्पनी करारमार्फत् नगर प्रहरीमा आएका थिए।
उनलाई फिर्ता पठाउने तयारी भएको श्रोतले जनाएको छ। अहिले अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याइएको छ। अन्य पनि संलग्न भएको पाइएमा उनीहरूलाई कारबाही गर्ने तयारी रहेको महानगर श्रोतले जनाएको छ।
निलम्बनमा परेका हवल्दार प्रयास घिमिरे उपमेयर सुनिता डंगोलका पूर्व पिएसओ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।