काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।
बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हाल्दै चारवटा निर्णय गरेका छन्।
आम नागरिकको स्वास्थ्य उपचार सेवालाई सरलीकृत गर्ने र उपलब्ध साधन श्रोतलाई अधिकतम उपयोग गरी जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने आधारभूत मानव अधिकारलाई सुनिश्चित गर्ने मन्त्री बस्नेतले बताएका छन्।
यस्ता छन् निर्णय
१. स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई संक्रामक एवं महामारीको रुपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै संघ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचार सँगै जीवन सुरक्षाको लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं संघ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने।
२. स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकोले दातृ निकाय समेतको सहभागिता जुटाई स्वास्थ्य संस्थामार्फत स्वास्थ्य विमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने।
३. आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरुमा साधन, श्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधा सहित चिकित्सकहरुलाई अधिकतम परिचालन गर्ने।
४. स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुबाट भईरहेको उपचारात्मक सेवा र उपलब्ध श्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भए, नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी माननीय मन्त्रीज्यू समक्ष प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहाय बमोजिमको अनुगमन समिति गठन गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।