काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेश सभाको बिहीबार बैठकमा पाण्डेले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथि मतदान भएको थियो।
मतदानमा ५९ सांसद सहभागी थिए। जसमा प्रस्तावको पक्षमा ३५ मत परेको थियो। त्यस्तै विपक्षमा २२ मत परेको थियो। त्यस्तै तटस्थ बस्छु भन्ने पक्षमा २ मत परेको थियो। गण्डकी प्रदेश सभामा ६० सदस्य छन्। बहुमतका लागि ३१ सांसदको मत आवश्यक पर्छ।
सभामुखले मुख्यमन्त्रीको प्रस्ताव बहुमतले पारित भएको हुँदा पाण्डले विश्वासको मत प्राप्त गरेको घोषणा गरे।
अघिल्ला मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री पद गुमाउनुपरेको थियो। त्यसपछि वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्रीमा दाबी पेस गर्दा पाण्डेले कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङ्गे (एकीकृत समाजवादी प्रवेश)को हस्ताक्षर प्रस्तुत गरेका थिए। त्यतिबेला उनको पक्षमा ३५ सांसद देखिएका थिए।
गण्डकी प्रदेशमा अहिले तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। जसमा मुख्यमन्त्री पाण्डेका अतिरिक्त माओवादी केन्द्रका सुशील सिंखडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी छन्। सिंखडा र तिवारीको मन्त्रालय तोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।